धान दिवसमा प्रधानमन्त्रीको शुभकामनाः उत्पादनबृद्धि भई आत्म निर्भर बन्न सहयोग पुगोस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा धानको उत्पादनमा वृद्धि भई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै उहाँले धान बालीको उत्पादन वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको हो ।

‘तराई, पहाड र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन मार्फत् नेपालमा धान चामलको उत्पादनमा वृद्धि भई धान चामलमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएको छु,’ प्रधानमन्त्रीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उहाँले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ ले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षा राखेको भन्दै सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

धान बालीले खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको भन्दै धान चामलको आयातमा ठूलो धनराशी खर्चिनु परेकोले खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखी विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको उल्लेख गर्नुभएको छ ।

सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बालीबीमा प्रवर्द्धन लगायतका विषयमा सरकारले काम गर्दै आएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

Back to top button