रंगेली– विराटनगर सडकखण्डको कल्भर्ट बाढीले बगायो

विराटनगर । मोरङको रंगेली–विराटनगर सडकखण्डको एउटा कल्भर्ट बाढीले बगाउँदा सावारी आवागमनमा समस्या भएको छ । रङ्गेली नगरपालिका–२ मङ्गलबारेमा रहेको कल्भर्ट बाढीले बगाएको हो ।

हिजो साँझ नहरमा आएको बाढीले कल्भर्ट बगाएको हो ।  सिँचाईका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

व्यस्त सडकको कल्भर्ट बाढीले बगाएपछि सवारी आवागमन प्रभावित बन्न पुगेको छ । साना सवारी साधनलाई ‘डाईभर्ट’ गरेर सञ्चालनमा ल्याएपनि ठूला सवारीसाधन सञ्चालनमा अवरोध भएको छ । बाढीले सडकमा पनि क्षति पुगेको छ ।

अविरल वर्षाका कारण मोरङका अधिकांश क्षेत्र जलमग्न भएको छ । सयौं घरहरु डुबानमा परेका छन् । बाढी पीडितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । विभिन्न खोलामा पानीको वहाव उच्च हुँदा र वर्षा नरोकिँदा बाढी पीडितको उद्धारमा कठिनाइ भइरहेको छ ।

Back to top button