सप्तकोशीमा पानीको वहाव निरन्तर बढ्दो

विराटनगर । अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ । विहान १० बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ५६ हजार १ सय २५ क्यूसेक रहेको छ । सप्तकोसीमा अहिले २१ वटा ढोका खोलिएको छ ।

निरन्तर पानीको वहाव बढ्न थालेपछि सतर्कता समेत बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्णरूपमा रोक लगाइएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ । नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोसीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई निरन्तरता दिएको छ ।

सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताउनुभयो । उहाँका अनुसार २ लाख क्यूसेक पानीको वहाव पुग्दा खतराको संकेत हुनेछ । निरन्तर पानीको वहाव बढिरहेकाले सतर्कता भने अपनाइएको छ ।

यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपलिकाका ५ र ८ नम्बर वडाका करिब ३० घर परिवार डुवानमा परेपछि स्थान्तरण गरिएको छ । यस्तै सुनसरीको इनरुवा स्थित सुनसरी खोला छेउका करिब १५ घर परिवारलाई स्थान्तरण गराइएको सहायक प्रमुख जिल्ला अधिकारी माझिले बताउनुभयो ।

उहाँका अनुसार बाढीका कारण सुनसरुीको इटहरी डुुबानमा परेको छ भने दुहवी नगरपालिकाको चिमडीमा करिब २ मिटर सडक कटान भएको छ । बाढीको प्रकोपबाट ठूलो क्षती नहोस भन्नका लागि सबै संयन्त्रहरु तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

Back to top button