देउवाले एकलौटी गरेको भन्दै रुष्ट बनेको शेखर समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहको बैठक आज बस्दै छ।

दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाइएको छ। आजको बैठकका पार्टीको अन्तरिक र बाह्य विषयमा पनि छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो।

पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ। पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ।

पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्न पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ।

देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सक्नुभएको छैन्।

१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा १ सय ४७ जना सदस्य मात्र छन्। सभापति देउवाले २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।

यसैगरी, पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा हाल ३७ सदस्यमा सीमित छ। २५ सदस्यीय रहने संसदीय बोर्डमा पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र हुनुहुन्छ। यस्तै, कांग्रेस विधानमा २८ वटा विभागको व्यवस्था छ।

देउवले गत ३ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिबाट १० भ्रातृसंगठन पनि भंग गर्नुभएको थियो। तीमध्ये ४ वटामा नयाँ नेतृत्व आइसकेको छ।

फागुन मसान्तभित्र १० वटै भ्रातृसंस्थानको केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार पाउनुभएका देउवाले पाँच महिनामा नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघलाई मात्र नेतृत्व दिनुभएको छ । त्यसमा पनि देउवाले एकलौटी गरेको यो समूहको आरोप छ।

देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गर्नुभएको थियो। कोइराला सचिवालयले देउवाले आफूले अबदेखि शेखर समूहसँग सल्लाह लिने बताए पनि त्यसलाई कार्यान्वयन नगरेको जनाएको छ।

केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुन्नुभएको थियो। त्यसमा उहाँले शेखर समूहसँग कुनै छलफल गर्नुभएको थिएन्।

Back to top button