सिङ्गो न्याय प्रणालीमै सुधार गर्नुपर्ने खाँचो छ : कानूनमन्त्री कोइराला

काठमाडौँ /  कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले मुलुकको न्यायप्रणालीमै सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोइरालाले भन्नुभयो, “सिङ्गो न्याय प्रणालीकै सुधार गर्नुपर्ने अवस्था रहेको छ, त्यसमाथि यौन हिंसा विरुद्धको कानूनलाई पनि समयानुकूल बनाउनुपर्ने आवश्यकता छ ।”

बैठकमा सांसदहरुले उक्त विधेयकमा हदम्याद राखिएको भनी प्रश्न खडा गर्नुभएको थियो ।

त्यसको जवाफमा कानूनमन्त्री कोइरालाले यौन हिंसासम्बन्धी अपराधको गम्भीरतालाई हेरेर अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा निरन्तरताका लागि मात्रै विधेयक आएको जानकारी दिनुभयो । बाध्यात्मक अवस्थाले आएको विधेयकलाई एउटा सामाजिक घटनाबाट उत्पन्न परिस्थितिका कारणले संशोधन प्रस्ताव आएको उहाँले बताउनुभयो ।

Back to top button