श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै

श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भाग्नुभएको थियो । हाल अन्तरिम राष्ट्रपति बन्नुभएका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने सम्भावना रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

उहाँ राजापाक्ष परिवारसँग निकट मानिनुहुन्छ । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उहाँले श्रीलंकाभर आपतकाल घोषणा गर्नुभएको छ । यसअघि राष्ट्रपति पदका दाबेदार विपक्षी नेता सजिथ प्रेमादासाले हिजो राष्ट्रपतिको दौडमा आफू नरहेको बताउनुभएको थियो ।

उहाँले नयाँ राष्ट्रपति पदको निर्वाचन अघि भारतसँग सहयोगको अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत जोसुकै राष्ट्रपति बनेपनि श्रीलंकाका जनताको समस्या पार लगाउन भारतसँग सहयोगको अपेक्षा गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका सबै राजनीतिक दल र भारतीय जनतासँग मेरो आग्रह छ, कि श्रीलंका र श्रीलंकाका जनताको समस्यालाई पार लगाउन सहयोग जारी रहोस् ।’

भारतीय विदेशमन्त्री एस जयशंकरले हिजोमात्र भारतले श्रीलंकालाई ३.८ अर्ब डलर सहयोग दिएको बताउनुभएको थियो ।

Back to top button