खोला दोहनले कृषक मारमा, सयौं विघा जमिनमा हुन सकेन रोपाई (भिडियोसहित)

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका र बेलबारी नगरपालिकाको बिचमा पर्ने लोहन्द्रा खोलाको अनधिकृत दोहनका कारण दक्षिणी क्षेत्रका कृषक मारमा परेका छन् ।

अनधिकृत रुपमा ढुङ्गा बालुवा निकाल्ने नाममा खोला गहिराएपछि खेतमा लाने कुलो नै संकटमा पर्दा कृषकहरु मारमा परेका हुन् ।

मोरङको सुन्दरहरैचा १ ल्याण्डफिल्ड साईड छेउमा खोला ‘च्यानलिङ’ गर्ने भन्दै प्रहरी प्रशासनकै आडमा अत्यधिक दोहन भएको गुनासो गर्दै स्थानीयले खोलो गहिरिएपछि खेतमा लैजाने कुलोमा पानी बग्न नपाएको दुखेसो पोखेका छन् ।

सामाजिक अभियन्ता इन्द्र भट्टराईले स्थानीयले पटक–पटक अवरोध गर्दा पनि प्रशासनकै आडमा खोलाको अत्यधिक दोहन भएको गुनासो गर्नुभयो ।

जसका कारण मोरङको सुन्दरहरैचा वडा १, ग्रामथान गाउँपालिकाका ४,६ र ७ वडा साविकका ग्रामथान र मोतिपुरसमेतका करिब ५ हजार विघा जमिनमा सिंचाईको समस्या भएको स्थानीय रोहित श्रेष्ठले बताउनुभयो ।

लोहन्द्राबाट दक्षिणवर्ती क्षेत्रमा सिंचाईका लागि लोहन्द्रा हैसेरी पैनी, कोरियाडाँगी पैनीलगायतबाट सिंचाईका लागि पानी लैजाने गरिएको छ । तर खोला गहिरिएपछि पैनीको मुहान करिब २ किलोमिटर उत्तर सार्दा समेत पानी लैजान मुस्किल भएको ग्रामथान–७ कोरियाडाँगीका खेम घिमिरेले बताउनुभयो ।

मुहान खोल्न सुन्दरहरैचा १ स्थित ल्याण्डफिल्ड साईड छेउमा आउनुभएका घिमिरेले सिंचाई सुविधा नभएकै कारण आफूले लगाएको डेढ विघा खेतको धानको रोपो सुक्न थालेको बताउनुभयो ।  यस विषयमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख (मेयर) केदारप्रसाद गुरागाईंले यस विषयमा बुझ्ने काम भइरहेको बताउनुभएको छ ।

खोला च्यानलिङ गर्ने भएपनि त्यहाँबाट निकालिएको ढुङ्गा बालुवा अन्यत्र लैजान नपाउनुपर्ने तथा सम्झौतामा मेसिनको प्रयोग गर्न नपाउने उल्लेख रहेपनि मेसिन प्रयोग भएको गुनासो आइरहेकाले त्यस विषयमा बुझ्ने उहाँले बताउनुभयो ।

Back to top button