सरकारले जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गर्छ: उद्योगमन्त्री बडू

जनकपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताउनुभएको छ ।

बन्द जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले मुलुकमा रहेको रुग्ण उद्योगहरु के कसरी सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको र अध्ययनपश्चात् सरकारले निर्णय लिने जानकारी दिनुभयो ।

यस्तै, मुलुकको व्यापार घाटा बढ्दै गएको अवस्थामा त्यसलाई कम गर्न पनि निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न रुग्ण उद्योग सञ्चालन गर्न लागेको बताउदै उहाँले रुग्ण उद्योग सञ्चालन गर्ने सरकारको नीतिअनुसार आफू स्थलगत अवलोकनमा आएको बताउनुभयो ।

सरकारले चलाएको जनकपुर चुरोट कारखाना कुनै बेला निकै नाम कमाएको उद्योग रहेको र अहिले बेहाल अवस्थामा देखिएकाले कारखानाको अवस्था, यसको सम्पत्ति, मेसिनरीको अवस्था लगायतका विषयवस्तु बुझ्नका लागि आफू अनुगमनमा आएको मन्त्री बडूको भनाइ थियो ।

अनुगमनका क्रममा मन्त्री बडूसँगै मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेश सरकारका कर्मचारी लगायतको सहभागिता थियो । मन्त्री बडूले आजै प्रदेश सरकारका मन्त्रीहरुसँग जनकपुर चुरोट कारखाना सञ्चालनको विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Back to top button