भिक्षुमाथि कुटपिट गरेको आरोपमा अभिनेत्री मिरुना र प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले आफुमाथि गाली बेइज्जती र कुटपिट गरेको सम्बन्धमा अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।

दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गर्नुभएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गर्नुभएको छ ।

फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उहाँविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी–४ फिल्मको प्रचारको लागि पुग्नुभएकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हान्नुभएको थियो।

यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । सहमति भएको एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिनुभएको थियो ।

त्यसपछि परिस्थिति शान्त हुनेभन्दा थप जटिल बन्दै गयो । यतिबेला पुनः मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर भएको हो । अभिनेत्री मिरुना यतिबेला लण्डनमा हुनुहुन्छ।

Back to top button