‘लक्ष्य प्राप्तिका लागि संघर्षरतका लागि खालि खुट्टा प्रेरणाको स्रोत’

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् ।

विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको खाली खुट्टा परिचर्चा कार्यक्रमका वक्ताहरुले यस पुस्तकले संघर्ष गर्न सिकाउने बताउनुभएको हुन् । टिकाराम पुरीले आफ्नो संघर्षमा आधारित पुस्तक खाली खुट्टा गत चैत ९ गते विमोचन गर्नुभएको थियो ।

राजधानी बाहिरबाट पहिलो पटक प्याब्सन केन्द्रीय अध्यक्ष बन्नुभएका पुरीको पुस्तकको बिमोचन प्याब्सनको १५ औं महाधिवेशनको अवसरमा गरिएको थियो ।

हिजो विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्ने बक्ताहरुले पुरीको संघर्षले युवाहरुलाई लक्ष्य प्राप्तीका लागि संघर्ष र मेहनेत गर्न गर्न प्रेरित गर्ने विश्वास ब्यक्त गरेका छन् ।

‘यो किताबले सबैलाई प्रेरित गर्छ, सकारात्मक सोचका साथ अघि बढ्नका लागि प्रेरित गर्छ, आशा जगाउनका लागि प्रेरित गर्छ,’ प्राज्ञ खेम नेपालीले भन्नुभयो,‘ उहाँले आँखा खुला राखेर सपना देख्छु भन्नु भएको छ, आज त्यो सपनाको पछाडि हिडेर सफल हुनु भएको छ, यो सफलताले संघर्ष गर्न सिकाउछ ।’ पुस्तकले जीवनको यथार्थ चित्रण गरेको उहाँले बताउनुभयो ।

पुस्तकभित्र विद्यालयमा छडी निषेध गरेकोदेखि नेपाली भाषामाथि भइरहेको प्रहारका विषय समेटिएको भन्दै नेपालीले भन्नुभयो,‘थोरै थोरै खाएर धेरै बाच्ने कि धेरै खाएर थोरै बाच्ने भनेर मदिराको सकारात्मक र नकारात्मक विषयलाई पनि उल्लेख गर्नु भएको छ ।’ पुस्तकमा आफ्ना कमजोरी पनि लेखिएका कारण नयाँ पुस्तालाई लक्ष्य प्राप्तीका लागि संघर्ष गर्न प्रेरित गर्ने उहाँको बुझाई छ ।

विश्लेषक दिनेश श्रेष्ठले खाली खुट्टामा समावेश भएका विषयले राजनीतिक संस्कार र समाज सुधारका लागि सन्देश दिएको बताउनुभयो । पुस्तकमा अत्यन्तै पारदर्शी भएर पुरी प्रस्तुत हुनुभएको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘संघर्षका विषय लेख्दा पाठकलाई ढाट्नु भएको छैन, यो नै सर्वाधिक शक्तिशाली पक्ष हो ।’

‘एभरेष्ट संघर्षको टाकुरो शीर्षक पुस्तकको सर्वाधिक महत्वपूर्ण परिच्छेद हो,’ उहाँले भन्नुभयो,‘हिजो जागिर खोज्दा नपाएपछि खुलेको विद्यालयले नेपालमा मात्र होइन बाहिर पनि चर्चित हुन पुगेको छ ।’ पुस्तकले धेरै विषय समेटेको भन्दै उहाँले लक्ष्य प्राप्तीका लागि संघर्ष गर्नेलाई ‘खाली खुट्टा’बाट धेरै प्रेरणा मिल्ने बताउनुभयो । केही कमजोरी रहेपनि समग्रमा पुस्तक राम्रो बनेको भन्दै उहाँले यो पढ्दा धेरै प्रेरणा लिन सकिने बताउनुभयो ।

साहित्यकार रामबाबु दाहालले चार वर्षमा पितृ वियोगबाट सुरु भएको दुःखदेखि सफलताको समयसम्मको विषय समेटिएको छ उल्लेख गर्दै पुस्तक पढ्दा पाठकलाई प्रेरणा दिने बताउनुभयो । उहाँले भन्नुभयो,‘खालिखुट्टाले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै पाठकलाई हिम्मत प्रदान गर्ने बताउनुभयो ।

साहित्यकार ताराबहादुर बुढाथोकीले पुस्तकमा समेटिएका विषयले सबै समूहलाई प्रेरणा मिल्ने बताए । पुस्तकले संघर्ष गर्न सिकाउने उनको भनाई छ ।

पुस्तक परिचर्चा कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले पुस्तकले समाजलाई निरन्तर मेहनत गर्दा गन्तव्यमा पुगिन्छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभयो । व्यावसायीक साझेदारसमेत रहनुभएका नेता ढकालले राजनीतिक अभियानमा सँगसँगै लागेदेखि विद्यालय सञ्चालनसँग जोडिएर ३६–३७ वर्षदेखि सँगै रहेको बताउँदै किताबले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ को सारलाई सफल बनाउन सकिन्छ भन्ने सन्देश दिने बताउनुभयो ।

पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्कीले पुस्तकको मुख्य उदेश्य संघर्ष गरे सफल हुन सकिन्छ भन्ने रहेको बताउनुभयो । लेखक टिकाराम पुरीले संघर्ष गर्नेहरुका लागि आफ्नो संघर्षको कथाले अघि बढ्नका लागि मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । आफ्नो भोगाईसँगै राजनीतिक विषय पनि पुस्तकमा समावेश गरेको उहाँले बताउनुभयो ।

‘हामी जुन राजनीतिक संस्कारबाट अघि बढिरहेका छौं सधैभरी यसैले नेपालको विकास हुन सक्दैन,’ उहाँले भन्नुभयो,‘अहिलेको राजनीतिक संस्कारले नेपाल अगाडि बढ्न सक्दैन, पुस्तकमा मैले राजनीतिक संस्कारमा सुधार गरौं भनेको छु ।’ ‘लेखनमा ढाँट्दा अपूर्ण हुने भएकाले नै आफूले भोगेका कुराहरु लेख्ने प्रयत्न गरेको गरेको भन्दै किताब सत्य बिषयलाई मात्र समेटिएको पुरीले बताउनुभयो ।

Back to top button