झोराहाट नाट्य समूहमा चारजना स्रष्टाको कविता र गजल प्रस्तुत

विराटनगर । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत हुनुभएको छ ।

समूहको सभाहलमा आज साउन महिनाको शृंखलामा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्सालले आ–आफ्ना कविता र गजल वाचन गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीले चारैजना कविलाई खादा ओढाएर मायाको चिनोसमेत प्रदान गर्नुभयो ।

बुढाथोकीले झोराहाट नाट्य समूहले सरकारबाट सहयोग प्राप्त काठमाडौंका सांस्कृतिक संस्थालगायतलाई समेत चुनौती दिएको बताउनुभयो ।

काठमाडौंभन्दा बाहिर पनि आफ्नै बलबुताले संस्थामार्फत स्तरीय कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण झोराहाटले पेश गरेको भन्दै उहाँले झोराहाट साहित्य र कलाकारिताको एउटा महत्वपूर्ण संस्था बनेको बताउनुभयो ।

झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिनुभयो । समूहले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ ।

मासिक साहित्यिक शृंखलासहित बेला–बेला नाटक मञ्चन र नाट्य लेखन र अभिनयको प्रशिक्षण सञ्चालन गर्दै आएको समूहका सचिव छत्र काफ्लेले बताउनुभयो ।

समूहलाई भानु जयन्तीका अवसरमा नेपाल सरकारले १ लाख राशिको गोपालप्रसाद रिमाल राष्ट्रिय कलाकारिता पुस्कार प्रदान गरेको थियो । कार्यक्रममा सिर्जना सुन्नका लागि पूर्वका विभिन्न जिल्लाबाट आएका साहित्यानुरागीहरूको उपस्थिति थियो ।

Back to top button