अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई चीनले लगायो प्रतिबन्ध

चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उहाँको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ । हालै पेलोसीले ताइवानको भ्रमण गरेपछि आक्रोशित भएको चीनले पेलोसीलाई प्रतिबन्ध लगाएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले ‘चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई अवमूल्यन गरेको, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको’ र ताइवानको क्षेत्रको शान्ति र स्थिरतालाई नोक्सान पुर्‍याएको बताउनुभएको छ ।

चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ तर ताइवानले भने आफूलाई स्वतन्त्र देश ठान्छ । अर्कोतर्फ न्यान्सी पेलोसी आफ्नो एसियाली भ्रमणको अन्तिम बिन्दुका रुपमा आज जापान पुग्नुभएको छ ।

त्यहाँ उहाँले पत्रकार सम्मेलनमा आफ्नो ताइवान भ्रमणको उद्देश्य यथास्थिति परिवर्तन गर्नु नभएको स्पष्ट पार्नुभयो। पेलोसीले अमेरिकाले ताइवानलाई कहिल्यै एक्लो हुन नदिने बताउनुभएको छ ।

Back to top button