पर्वतको धारापानीमा करेन्टका कारण एकको मृत्यु, १२ जना घाइते

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीय यामबहादुर केसीले जानकारी दिनुभयो।

स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काले दिएको जानकारी अनुसार करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको हो।

घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको उहाँले जानकारी दिर्नुभयो । इन्चार्ज खड्काका अनुसार करेन्ट लागेर अन्य १२ जना घाइते भएका छन् ।

हाइभोल्टेज लाइनका कारण गाउँका करिब २ सय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुँडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन् ।

विद्युत कार्यालयको लारवाहीका कारण दुःखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो । घटनाको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने उहाँको भनाइ छ । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेको छ ।

टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।

यस्तै, उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले प्रारम्भिक रुपमा २ सय २० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्योभन्दा धेरै भोल्टेज प्रसारण भएको बताउनुभयो ।

आज बिहानै विद्युत समस्या समाधानका लागि केहि स्थानमा रुख हटाउने काम भएको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख गोशेलीले कति भोल्टेजले प्रवाह नहुनुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेजले नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताउनुभयो।

Back to top button