एमालेको दवावका कारण सरकार निर्वाचनको मिति तोक्न बाध्य भयो: नेम्वाङ

फिदिम । नेकपा (एमाले) संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङले एमालेको दवावका कारण सरकारले निर्वाचनको मिति तोकेको बताउनुभएको छ ।

‘सरकारले निर्वाचनलाई पछि धकेल्ने षडयन्त्र गरिरहेको थियो,’ उहाँले भन्नुभयो, ‘एमालेले निर्बाचन गराउन दवाव दिएपछि बाध्य भएर सरकारले निर्वाचनको मिति तोकेको हो।’

एमालेसँग चुनाब लड्न डराएर काँग्रेस–माओवादीले अपवित्र गठबन्धनको अभ्यास गरेको उहाँले बताउनुभयो। प्रेस चौतारी पाँचथरले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले सरकारको असक्षमताका कारण संसदले काम गर्न नसकेको आरोप लगाउनुभयो।

‘एमालेका पनि केही कमजोरी होलान्,’ उहाँले भन्नुभयो, ‘एमालेको स–साना कमजोरीलाई देखाएर सरकारको ब्लण्डरलाई ढाकछोप गर्न मिल्दैन।’ एमालेले पनि कमजोरी गरेको भन्दै सरकारका राष्ट्रघाति कदमलाई ढाकछोप गरिएको उहाँको तर्क छ।

पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले कांग्रेस–माओवादीको गठबन्धनलाई दुषितको संज्ञा दिनुभएको छ ।। ‘विचार नमिल्ने दलहरुबीचको गठबन्धन दुषित छ,’ नेम्वाङले भन्नुभयो, ‘ यो गठबन्धन नेताहरुको स्वार्थमा केन्द्रित छ। यो गठबन्धनले देशलाई निकाश दिन सक्दैन।’

एमाले एक्लै चुनाब लड्न सक्षम रहेको नेम्वाङको तर्क छ। ‘एमाले अप्राकृतिक गठबन्धन गरेर चुनाब लड्दैन,’ उहाँले भन्नुभयो, ‘एमाले एक्लै चुनाब लड्न सक्ने नेपालको एक मात्र पार्टी हो।’ अहिलेको गठबन्धन संविधान, नियम र कानुन विपरित भएको नेम्वाङको तर्क छ।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव योगेश भट्टराईले देशको अर्थतन्त्र धराशयी भएको बताउनुभयो। पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने शिलशिलामा एमाले नेताहरु पाँचथर आउनुभएको हो ।

Back to top button