सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँट हुनुपर्छ: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ ।

नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेपछि आज बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको हो ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको उहाँको भनाइ छ । त्यस्तै खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दल नै उदाशन रहेको र अहिले नै बृहत बाम एकताको सम्भावना नरहेको धारणा राख्नुभयो।

यस्तै, उहाँले नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहेपनि भारतको ३१ सदस्यीय संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको प्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

भारतको उक्त प्रतिवेदनले चिया उत्पादकहरु चिन्तामा परेका कारण यसबारे सरकारले भारतसंग छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

Back to top button