सुनसरी क्षेत्र नम्बर–१ बाट राई चुनाव लड्ने तयारीमा

धरान । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने तयारी गरिरहनुभएको छ । आज धरानमा जसपा धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष राईले नेकपा एमालेको असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताउनुभयो। उहाँले आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने बताउनुभयो।

उहाँले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा केही समस्या भएकाले यसको समाधानका लागि पहल भइरहेको बताउनुभयो। उहाँले आफू सुनसरी क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने तयारी गरिरहेको पनि बताउनुभयो।

उहाँले २०७४ को संसदीय निर्वाचनमा धरानका जनताले आफूलाई दोस्रो स्थान दिएर माया गरेकाले पुनः यहीबाट चुनाव लड्ने मनसाय बनाएको बताउनुभयो। उहाँले सिट बाँडफाँटमा सुनसरी क्षेत्र नम्बर–१ नपाए पनि गठबन्धनले टिकट दिएको स्थानमा गएर पनि चुनाव लड्न तयार भएको बताउनुभयो।

यस्तै, खोटाङ र उदयपुर छाडेर सुनसरी किन आउनुभयो? भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले लोकतन्त्रमा जुन क्षेत्रमा गएर पनि चुनाव लड्न पाउने बताउनुभयो। उहाँले केही दलहरूले राजतन्त्र र संघीयता खारेजीको गलत कुरा उठाएको बताउनुभयो। उहाँले जनताले आन्दोलन गरेर ल्याएको गणतन्त्र संस्थागत भइसकेकाले राजतन्त्रको दिउँसै सपना नदेख्न चेतावनी समेत दिनुभएको छ ।

Back to top button