आज जनै पूर्णिमा तथा रक्षावन्धन पर्व मनाईदै

विराटनगर । आज श्रावण शुक्ल पूर्णिमा । हरेक वर्ष यस दिनलाई  पर्वका रुपमा मनाईन्छ । आज देशभर नव यज्ञोपवीत (जनैं) एवं रक्षावन्धन धारण गरेर मनाइन्छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्रका रुपमा हातमा डोरो बाँधने तथा जनै फेर्ने गरिन्छ ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षाको लागि बलशाली डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्पराको रुपमा हालसम्म प्रचलित रहेको पाइन्छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ ।

यस्तै आजको दिनलाई क्वाटी पूर्णीमा समेत भन्ने गरिन्छ । आज विभिन्न परिकारका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटीका रुमपा पकाएर खाइन्छ। यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाम भर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

तराईका क्षेत्रमा भने आजको दिनलाई राखी पर्वका रुपमा धुमधामका साथ मनाइन्छ । आजको दिन दिदी बहिनीले दाजुभाइको रक्षार्थ राखी बाँधी दिने प्रचलन रहि आएको छ । यस पर्वमा दाजुभाईको रक्षाको कामना गर्दै बाँधीने राखीले दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध समेत बढ्छ भन्ने सामाजिक मान्यता छ।

पछिल्लो समय राखी परम्परा तराईका क्षेत्रमा मात्रै नभई सबै समुदाय र भुगोलमा समेत मनाउने क्रम बढ्दो छ । आज विभिन्न जलासय किनार र धार्मीकस्थलमा मेला समेत लाग्ने गरेको छ ।

Back to top button