आयोजकले पहिलो खेल खेल्ने चलनलाई निरन्तरता दिँदै विश्वकप फुटबल एकदिन अघि सारियो

काठमाडौं । आयोजक राष्ट्रले पहिलो खेल खेल्ने चलनलाई निरन्तरता दिँदै कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ ।

यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिकालाई एक दिन अघि सार्दै नोभेम्बर २० मा सुरु हुने भएको छ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ ।

यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो । जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो ।

आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ ।

जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।

Back to top button