सरकार पूर्ण विश्वासका साथ निजी क्षेत्रसँग काम गर्न चाहन्छ: मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पूर्ण विश्वासका साथ निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ ।

हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रसँगको सहकार्य गर्दै अहिलेको आर्थिक अवस्थालाई सरकारले सुधार गर्न चाहेको बताउनुभएको हो ।

उहाँले सरकारले आफ्नो सीमा भित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो। मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्नेमा पनि उहाँको जोड थियो। उहाँले अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो।

उहाँले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै नीजी क्षेत्रलाई पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गर्नुभयो। उहाँले विश्वासका साथ सहकार्य गर्न र अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता भएको बताउनुभयो।

मन्त्री बडूले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढीरहेको जानकारी दिनुभयो। उहाँले निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिवद्ध रहेको बताउनुभयो।

Back to top button