चिनियाँ राजदूत यान्छी र सभामुखबिच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नु भएको छ ।

उहाँहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा विहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमी छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताउनु भयो ।

उहाँले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी सभामुख सापकोटाले राजदूत यान्छीसँग हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोरोना महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गर्नु भएको थियो ।

उहाँहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउने सम्बन्धमा पनि छलफल भएको थियो । भेटमा राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गर्नु भयो ।

उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताउनु भयो । राजदूत यान्छीले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको सभामुख सापकोटाको नीजि सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Back to top button