ग्रिन टायरले ल्यायो शेर्पा ब्राण्डको एग्रिकल्चर टायर

विराटनगर । मोरङको कटहरी– ४ स्थित ग्रिन टायर उद्योग प्रा.लि.ले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । उद्योगले मोरङ ब्यापार संघमा हिजो पत्रकार सम्मेलन गरि नयाँ उत्पादनका बिषयमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि रहनुभएका मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा.लि.का प्रबन्ध निर्देशक विनित सिंघानियाले संयुक्त रुपमा टायर सार्वजनिक गर्नुभएको हो ।

एग्रिकल्चर सेगमेन्ट अन्तर्गतका ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भूमि, सारथी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गरिएको उद्योगका प्रवन्धक निर्देशक सिंघानियाले बताउनुभयो । सिंघानीयाका अनुसार भुगोलका हिसाबले सबै क्षेत्रमा चल्ने ट्याक्ट्ररका लागि आवश्यक पर्ने टायरहरु उत्पादन शुरु गरेको हो ।

स–साना काँटीले नछेड्ने, हिलो तथा कच्चि सडकमा नचिप्लिने र लामो समयसम्म टिकाउ हुने टायरका प्रमुख बिशेषता रहेको भन्दै सिंघानीयाले नेपाली कृषि भूमिकालागि उपयुक्त उत्पादन भएको दाबी गर्नुभयो । स्वदेशी उत्पादनको प्रयोग गर्ने विकासले धेरै ठूलो सहयोग गरेको बताउनुभएका उहाँले यहाँ उत्पादित टायर विदेशी टायरसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको सिंघानीयाले बताउनुभयो ।

उहाँले टायर उत्पादनका लागि स्वदेशी रबरहरू पनि प्रयोगमा ल्याउन थालेको र गुणस्तरलाई ध्यानमा राखी किसानहरूलाई बेला–बेलामा स्वदेशमा गुणस्तरीय रबर उत्पादन गर्ने तालिम समे प्रदान गर्दै आएको बताउनुभएको छ ।

उत्पादित टायरका मोडलहरू विदेशी टायरका तुलनामा आकर्षित र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको पनि सिंघानियाले बताउनुभयो । ट्याक्टरमा लाग्ने सम्पूर्ण साइजका टायरहरू उत्पादन गरेको उद्योगले आगामी तीन महिनामा ट्रलीमा लाग्ने टायरहरू पनि बजारमा ल्याउने योजना बनाएको छ ।

२०६३ सालमा स्थापना भएको उद्योगले दुई ह्विलर टायरबाट आफ्नो उत्पादन सुरू गरेको थियो। उद्योगले हाल २ र ३ ह्विलिर टायर उत्पादन गर्दै आएको निर्देशक सिंघानियाले जानकारी दिए । ४० करोड लगानीमा स्थापना भएको उद्योगले नेपालमा टायरको उत्पादन सम्भावना र भविष्यलाई मध्यनजर गर्दै लगानी थप गर्ने सिंघानियाले बताउनुभयो ।

निजी लगानीमा नेपालमा दुई वटा मात्र टायर उद्योग भएकाले नेपालको मागलाई धान्न नसकेको भन्दै सिंघानियाले नेपालले १५ प्रतिशत मात्र माग धान्ने बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले देशको खस्किँदो अर्थतन्त्रको बाबजुद पनि उद्योगमा लगानी गर्नु सराहनीय भएको बताउनुभयो । उहाँले नेपाली उत्पादन बढ्दै जाँदा आयात घट्दै जाने र देशको अर्थतन्त्र समेत बलियो हुँदै जाने बताउनुभयो ।

उहाँले नेपालमा टायर उद्योग स्थापना भएसँगै भारतीय, कोरियन ब्राण्डका टायरहरू केही हदसम्म भए पनि आयात कम भएको बताउनुभयो ।

Back to top button