मुसहर समुदायको पहिलो चलचित्र ‘पान सौ टका’ को छायाङ्कन आजबाट सुरु

विराटनगर । मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’को छायाङ्कन आजबाट सुरु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका वडा नं.–२ मा आज एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो। शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषण लगायतको विषयलाई उजागर गर्दै सशक्तिकरण गर्ने उद्देश्यका साथ चलचित्र निमार्ण गर्न लागिएको जनाइएको छ।

करिब १५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निमार्ण सम्पन्न गर्ने गरी चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माता तथा अभिनेता धर्मेन्द्र ऋषिदेवले बताउनुभयो।

उहाँले प्रदेश १ को मोरङ, सुनसरी र झापाका साथै मुसहर समुदायको उद्गमस्थल रहेको सप्तरीको विभिन्न ठाउँमा चलचित्र छायाङ्कनको योजना रहेको जानकारी दिनुभयो ।

यस्तै, निमार्णपश्चात् च्यारिटी शो गरेर चलचित्र प्रर्दशनको योजना रहेको जनाइएको छ। चलचित्रको निर्देशन पुष्कर राना मगरले गर्नुभएको छ । चलचित्रमा लक्ष्मी राई, सन्तोष ऋषिदेव र साइमन सरदार लगायतका कलाकारको अभिनय रहनेछ।

Back to top button