कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्धारा पत्रकार पौडेलसहित चारजना सम्मानित

विराटनगर । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले आज पत्रकार कमल पौडेलसहित ४ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले स्वर्गीय सिग्देलको स्मृति दिवसमा हरेक वर्ष विभिन्न चार विधामा कृयाशिल ब्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

यस वर्ष पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कृयाशिल पत्रकार पौडेललाई नगद २१ हजार १ सय ११ रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पौडेल मकालु टेलिभिजनको समाचार सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । लामो समयसम्म ब्लड क्यान्सर रोग सँग लड्नुभएका पौडेल केहिसमय अघिबाट पुनः पत्रकारितामा सकृय हुँदै आउनुभएको छ ।

यस्तै प्रतिष्ठानले महिला युवा उद्यमी सम्मानबाट सोमी भगत चौलागाईलाई सम्मान गरेको छ भने युवा उद्यमीको रुपमा गोपाल अग्रवाललाई सम्मान गरेको छ ।

यस्तै स्वर्गीय कृष्णप्रसाद सिग्देल अध्ययन गरेको सुनसरीको मधुवन स्थित जनता उचच मा.वि.बाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने एक जनालाई पनि प्रतिष्ठानले प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको छ ।

यस वर्ष त्यस विद्यालयबाट ३.४५ जीपिए सहित सर्वोत्कृष्ट अंक ल्याउने छात्रा अन्जनीकुमारी गुप्तालाई सम्मान गरेको छ । नगद १५ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले उहाँलाई सम्मान गरिएको हो ।

यसैगरि हरेक वर्ष स्वर्गीय सिग्देलले सञ्चालन गरेको स्वस्तिका ढुवानी सेवाका कर्मचारीहरुको हितका लागि स्थापित कर्मचारी कल्याण कोषका लागि नगद ५१ हजार रुपैयाँ प्रदान गरेको प्रतिष्ठानले मजदुर र चालक कल्याण कोषका लागि नगद २१/२१ हजार रुपैयाँ प्रदान गरेको छ । यस्तै मजदुर कर्मचारीको लागि पोशाक समेत वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्मानित ब्यक्तिहरुलाई दोसल्ला ओढाई सम्मानपत्र र नगदले सम्मान गर्नुभएको हो ।

कार्यक्रमका वक्ताहरुले सडक तथा यातायात मजदुरहुँदै विभिन्न संघर्ष गरेर व्यवसायका क्षेत्रमा स्थापित हुन सफल हुनुभएका स्वर्गीय सिग्देलको अल्पायुमा निधन भएपनि उहाँले देखाएको बाटो अवलम्बन गर्दा स्वदेशमै केहि गर्नुपर्छ भन्ने युवापुस्तालाई प्रेरणा हुने बताएका छन् ।

प्रतिष्ठानकी अध्यक्ष तथा स्वर्गीय सिग्देलकी धर्मपत्नि सीता सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरका प्रमुख कोइराला, महानगरकी उपप्रमुख शिल्पा निराला कार्की, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकाल, श्याम पौडेल, प्रतिष्ठानका कोषाध्यक्षसमेत रहनुभएका स्वर्गीय सिग्देलका छोरा सञ्जिव सिग्देललगायतले स्वर्गीय सिग्देलले गर्नुभएको योगदानको चर्चा गर्नुभएको छ ।

Back to top button