बीमा निजी क्षेत्रलाई दिन मिल्दैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने तर्क गर्नुभयो ।

उहाँले स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताउनुभयो ।

महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताउनुभयो । उहाँले सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न नसक्ने बताउनुभयो ।

महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको आरोप लगाउनुभयो ।

प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न नसके देशले थेग्नै नसक्ने तर्क गर्दै उहाँले सरकारलेृृृ थेग्न सक्ने किसिमको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।

स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

Back to top button