रुकुम पूर्वको प्रहरी भ्यान दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु

रुकुम पूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका –११, सेरामाथिको मोडमा बिहान भएको जीप दुर्घटनामा परेर घाइते हुनुभएका एक प्रहरी जवानको मृत्यु भएको छ । २ जना प्रहरी उपरीक्षकसहित ५ जना घाइते हुनुभएको छ ।

लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो । दुर्घटनामा परेर घाइते हुनुभएका रुकुमपूर्वका प्रहरी प्रमुख, डीएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरी बलका रुकुमपूर्व डीएसपी उपरीक्षक रविन श्रेष्ठ, प्रहरी जवान लक्ष्मण घर्ती, प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टर मार्फत थप उपचारको लागि बाँकेको कोहलपुर लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक तीन जना र दोश्रो पटक पुनः मृतक सहित २ जनालाई उपचारको लागि कोहलपुर लगेको हो । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा जाने क्रममा जीप दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको टोली भने अर्को गाडीमा सवार रहेको बताइएको छ ।

अनुगमन र अन्य कार्यका लागि जिल्लाको सुरक्षा निकायको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो ।

Back to top button