भारतीय सेयर बजारका बादशाह राकेशको निधन

काठमाडौं । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाउनुभएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ ।

उहाँको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उहाँले आकासा एयरलाइन्समा लगानी गर्नुभएको थियो ।

यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गर्नुभएका राकेशले ७० वटा जहाज किन्ने योजना बनाउनुभएको थियो । उहाँको आज बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उहाँको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक व्यक्त गर्नुभएको छ ।

उहाँको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उहाँका पिता आयकरमा कर्मचारी हुनुहुन्थ्यो । उहाँलाई आफ्ना पिताको संगतले सेयर बजारतर्फ आकषिर्त गरेको हो ।

उहाँले १९८५ बाट सेयर बजारमा लगानी गर्न थाल्नुभएको थियो । उहाँ पेशाले भने चार्टर्ड एकान्टेन्ट हुनुहुन्थ्यो । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उहाँको सम्पत्ति ६ अर्ब डलर रहेको छ ।

यस्तै, राकेशका बुबा आयकर अधिकारी हुनुहुन्थ्यो । स्टक बजारमा लगानी गर्ने उहाँको झुकाव किशोरावस्थामा सुरु भयो । सेयर बजारमा राकेशको चासो बढ्दै गयो । सिडेनहम कलेजमा पढ्दै गर्दा उहाँले सन् १९८५ देखि सेयर बजारमा पैसा लगानी गर्न थाल्नुभएको थियो।

Back to top button