गठबन्धनको सिट बाँडफाँट गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ ।

बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल हुने छ ।

हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो ।

यस्तै, २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ ।
कार्यदलमा कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुुन्छ।

माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

यस्तै, कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।

Back to top button