राष्ट्रपति भण्डारी दुई दिनका लागि पोखरा आउँदै

कास्की । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने हुनुभएको छ । आज हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्नुहुने छ ।

पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नुहुने छ । आज उहाँ ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

उहाँ भोलि बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्नुहुने छ । त्यसपछि उहाँ विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने प्रजिअ आचार्यले बताउनुभयो ।

भोलि दिउँसो उहाँ गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुहुने छ । कार्यक्रमलाई सम्वोधन गरेर राष्ट्रपति भण्डारी भोलि अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी पोखरा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ आचार्यले बताउनुभयो । राष्ट्रपति भण्डारीले नागरिकता विधयेक प्रमाणीकरण नगरी फिर्ता गरेपछि उहाँविरुद्ध प्रदर्शन हुन सक्ने भन्दै विशेष निगरानी गरिएको प्रहरी स्रोतले बताएको छ ।

Back to top button