आगामी निर्वाचनमा फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने बताउनुभएको छ ।

पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ ।’

गठबन्धनमा रहेका दलहरुको जनाधार हेरेर तालमेलको गृहकार्य गर्न कार्यदल गठन गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’

उहाँले पार्टीमा कसैलाई पनि काखापाखा र भेदभाव नगर्ने बताउनुभयो । उहाँले तर गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं, टिकट चाहिन्छ नभन्न समेत आग्रह गर्नुभयो ।

Back to top button