आइटेलद्वारा क्रिकेटर अमित श्रेष्ठलाई सद्भावना दूत घोषणा

काठमाडौं । विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आइटेल) ले सद्भावना दूत घोषणा गरेको छ।

महालक्ष्मी मोबाइल आइटेलले आज एक कार्यक्रमको आयोजना गरेर क्रिकेटर श्रेष्ठलाई एक वर्षको सम्झौता गरी सद्भावना दूत नियुक्त गरेको हो।

आइटेलको तर्फबाट बिजनेस डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २८ वर्षीय श्रेष्ठले कुनै प्रतियोगिता खेल्दा आइटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउनुहुनेछ ।

दायाँ हाते ब्याट्सम्यान श्रेष्ठले नेपालको यु–१९ टोलीबाट समेत खेलिसक्नुभएको छ भने घरेलु प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्नुभएको छ । विरगञ्जबाट खेल्नुभएका श्रेष्ठले सन् २०१२ मा दुई शतक बनाउनुभएको थियो।

सन् २०१७ बाट प्रयोगमा आएको आइटेल हाल १७ देशमा प्रयोगमा छ। जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेलले जानकारी दिनुभयो। सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण पुलिसका कप्तानसँग सहकार्य गरेको बताउनुभयो।

‘क्रिकेट सबैले रुचाएको खेल हो। खेलको लागि हामीले केही गरौं भनेर क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं।’ उहाँले भन्नुभयो, ‘खेलाडीलाई पनि सहयोग होस र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं।’

पौडेलका अनुसार श्रेष्ठले प्रयोग गर्ने खेल सामग्री करिब १ लाख २० हजारसम्म हुन जाने बताउनुभयो । यस्तै श्रेष्ठले भविष्यमा क्रिकेट खेल्नका लागि आइटेलसँगको सहकार्यले राहत पुग्ने बताउनुभयो।

‘यो सहकार्यको लागि आइटेललाई धन्यवाद ! यसले मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो।

 

Back to top button