अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने विदाई

विराटनगर । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आज विराटनगरमा विदाई गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गर्नुभएको हो ।

कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर विदाई गर्नुभएको हो ।

विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुदका माध्यमबाट पनि समाज परिवर्तन गर्न सकिन्छ, युवाहरुलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन सकिन्छ भन्दै मेयर कोइरालाले खेलकुदले मुलुकलाई विश्वभर चिनाउने  बताउनुभयो ।

विराटनगर ४ का वडाध्यक्ष जितन थापाले शिक्षा र स्वास्थ्य जस्तै खेलकुद पनि समाजको महत्वपूर्ण अंग भएको बताउनुभयो । खेलकुदले युवाहरुलाई शारीरिक र मानसिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष थापाको भनाइ थियो ।

यही अगष्ट १९ देखि २३ तारिखसम्म थाइल्याण्डमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई कञ्चनबारी कराँते एकेडेमीले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो ।

कार्यक्रममा एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिनुभयो ।

Back to top button