राष्ट्रपति भण्डारीको तीजको शुभकामनाः हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक

काठमाडौं । हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नुभएको छ ।

हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताउनुभएको छ ।

नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै उहाँले यस पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीद्धारा जारी शुभकामना सन्देशमा “महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु”, उल्लेख गरिएको छ ।

परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान रहेको उहाँले बताउनुभएको छ ।

आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचार युक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको भन्दै उहाँले भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएकाले सबैले मनन गर्नुपर्ने समेत बताउनुभएको छ ।

Back to top button