चुनावको तयारीमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाउनुभयो । ऐनको सन्र्दभमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उहाँले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्वन गरिने धारणा राख्नुभयो।

उहाँले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताउनुभयो।

यस्तै, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्तावेज भएको भन्दै कर्मचारीको जायज मागलाई सम्बोधन हुने गरि ऐनलाई अन्तिम रुप दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा कर्मचारीहरुले आफूहरुको वृत्तिविकासका लागि अन्य विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

Back to top button