दाङको संस्कृत विश्वविद्यालयमा फेरि पनि तालाबन्दी

काठमाडौं । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पुनः ताला लागेको हो ।

विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन् । उनीहरुले तालाबन्दी गर्नुका साथै विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद विद्यापिठमा ओपीडीसहितको अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, इन्टर्नसिपका लागि क्याम्पसले गरेको सम्झौता अनुरुप भत्ताको व्यवस्था गर्नुपर्ने लगायत २१ वटा माग राखेका छन् ।

यस्तै यसअघि पनि विश्वविद्यालय लामो समय तालाबन्दीको मारमा परेको थियो । नेविसंघले विश्वविद्यालयमा उपप्रध्यापक नियुक्ति लगायतको माग राख्दै १०० दिन तालाबन्दी गरेको थियो । वैशाख १९ गतेदेखि लगाएको ताला उच्च अदालतको अन्तरिम आदेशपछि मात्र नेविसंघले साउन २५ गते ताला खोलेको थियो ।

Back to top button