त्रिविका नेविसंघको सबै समिति भङ्ग

काठमाडौं । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयका सबै समिति विघटन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर विद्यालयस्तरीय समितिले पछिल्लो केही समययता त्रिभुवन विश्वविद्यालयलाई असर गर्ने गतिविधि गरेकाले समिति नै विघटन गरिएको जानकारी दिनुभएको छ ।

अर्को समिति घोषणा नहुञ्जेलसम्म नेविसङ्घको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, कुनै निर्णय गर्नुपरेमा केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने र व्यक्तिगत लहडबाजीमा नभइ आपसी सहमतिमा निर्णय लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

त्रिवि प्रशासनमा लामो समयसम्म तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसङ्घका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसङ्घ केन्द्रले चासो व्यक्त गरेको छ ।

अहिलेसम्म त्रिभुवन विश्वविद्यालयमा नेतृत्व गर्ने विद्यार्थी नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै अब सङ्गठनलाई थप शसक्त र सङ्गठित गर्ने दायित्व केन्द्रीय समितिको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Back to top button