घटस्थापनाको १०ः२३ बजे र टिकाको उत्तम साइत ११ः५१ मा

काठमाडौं । यस वर्ष घटस्थापनाको साईत बिहान १० बजेर २३ मिनेट र टिकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। असोज ११ गते झण्डा फेर्ने साइत ११ बजेर ११ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।

यस्तै विजयादशमीको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेट जाँदा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।

टिका पूर्वी मोहडा गरेर लगाउनुपर्ने समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

Back to top button