संगीतकार सुनामको निधन, जसले सेक्सोफोन बाजाको स्थापित गर्नुभयो

काठमाडौं । सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने चर्चित संगीतकर्मी शुभबहादुर सुनामको आज ७४ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे निधन भएको हो । लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राति असहज भएपछि अस्पताल लगिएको थियो ।

‘किड्नीको समस्या थियो । डायलाइसिस पनि हुँदै थियो । सोही क्रममा आज बिहान हजुरबुवाको निधन भयो,’ नाति एलिश कार्कीले भन्नुभयो ।

दाहसंस्कारका लागि सुनामको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिएको छ । सैनिक सलामीसहित उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइने भएको छ । संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित भएका छन् ।

सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म हुनुभएको थियो । सैनिक ब्यान्डमा रही उहाँ वाद्यवादन तथा संगीत सिर्जनामा सक्रिय हुनुहुन्थ्यो । उहाँले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाउनुभएको थियो ।

रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उहाँका हिट गीतहरु हुन् ।

उहाँले ७७५ भन्दा बढी गीतमा संगीत भर्नुभएको छ । त्यसमा फिल्म, भजन, आधुनिक टीभी सिरियल, पप, बालगीत र राष्ट्रिय गीत समावेश छन् । उहाँले अधिकांश संगीत तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमूर्ति, कुमार बस्नेत, प्राश्ना शाक्यका गीतमा समेत संगीत भर्नुभएको छ ।

सुनामले पछिल्लो समय आफ्ना छोराहरुसहित नाति र नातिनीहरुलाई सेक्सोफोन वाधन र संगीततर्फ प्रेरित गरिरहनुभएको थियो ।

Back to top button