अब मुलुकमा सम्वृद्धिको नेतृत्व गर्छु: प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अब मुलुकमा समृद्धिको नेतृत्व गर्ने दावी गर्नुर्भएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको उद्घाटन गर्दै उहाँले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको दावी गर्दै अब मुलुकमा समृद्धिको नेतृत्व गर्ने बताउनुभएको हो ।

प्रचण्डले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताउनुभयो।

‘संघीय निजामती ऐन र सुरक्षा ऐनहरू बनाउन बाँकी छ, संविधानको सफल कार्यान्वयनमार्फत तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ठूलो अभिभारा बाँकी नै छ,’ उहाँले भन्नुभयो।

संविधान दिवसमा आयोजना गरिएको कार्यक्रममा उहाँले घुमाउरो पारामा फेरि एक पटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भन्नुभयो, ‘जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र सम्वृद्धिका लागि एक पटक नेतृत्व गर्ने चाहाना छ। समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहाना छ, अब समाजवादमार्फत नै मुलुकलाई सम्वृद्ध बनाउने हो।’

जनयुद्धमार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको प्रचण्डले तर्क गर्नुभयो।

उहाँले ५० शय्याको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको उद्घाटन गर्नुभएको छ । दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय पाँच करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो।

‘जिल्लामै पहिलो पटक जनताबाट चन्दा उठाएर सुविधासम्पन्न अस्पताल बनाएका हौँ’,अध्यक्ष राईले भन्नुभयो, ‘महायज्ञ लाएर जनताको एकताको बलले करोडौंको अस्पताल बनाउन सफल भएका छौँ।’

पछिल्लो समय आस्था, जाति र लिंगका आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक संरचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, प्रदेश १ मा पूर्व राज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो।

त्यस अवसरमा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङ लगायतलाई सम्मान गरिएको छ।

Back to top button