छैटौं संस्करणमा पनि नेपाल उपविजेतामै सिमित, तीन खेलाडीद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । छैटौं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ।

ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना अधुरै रहँदा बंगलादेश साफको नयाँ विजेता बन्न पुगेको छ । दर्शकको ठूलो साथ पाए पनि घरेलु टोली नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित हुन पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो बेलुका सम्पन्न फाइनलमा बंगलादेशको रणनीति बुझ्न नसक्दा नेपाल फराकिलो हार बेहोर्न बाध्य भयो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गर्नुभयो ।सामसुनाहरले एक गोल थप्नुभयो ।

नेपालकी अनिता बस्नेतले मात्र सान्त्वना गोल फर्काउन सफल हुनुभयो । यो सँगै नेपाल च्याम्पियनसिपको फाइनलमा पाँचौं पटक चुकेको छ। नेपालले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१९ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको थिएन।

महिला फुटबलमा बंगलादेशले नेपाललाई हराएको यो पहिलो पटक हो। यसअघि दुई टोलीबीचको आठ खेलमा नेपाल अपराजित थियो। प्रतियोगिताभर अपराजित रहेको बंगलादेशले एक गोल मात्र खाएको छ ।

उपाधि नजिक पुगेर पनि नजिता अपेक्षाकृत नआएपछि नेपाली टोलीका तीन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। डिफेन्डर पुनम जर्गामगर, मिडफिल्डर दीपा राई र इन्दिरा राईले सक्रिय खेल जीवन टुङयाउने घोषणा गर्नुभएको हो ।

सन्यास घोषणा गरेका तीन जना खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ब्लेजर प्रदान गर्दै बिदाई गर्नुभएको छ ।

यस्तै नेपाल उपविजेतामै सीमित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पद छाड्ने घोषणा गर्नुभएको छ । सोचेको लक्ष्य पूरा गर्न नसकेपछि मुख्य प्रशिक्षकको जिम्मेवारीबाट उहाँले अलग हुने घोषणा गर्नुभएको हो । ‘जुन लक्ष्य लिएर टोली सम्हालेको थिएँ, त्यो पूरा गर्न सकिनँ। त्यसैले आजैदेखि टिम छाड्छु’, उहाँले भन्नुभएको छ ।

Back to top button