अनशनरत डा. गोविन्द केसी काठमाडौं आउन तयार

काठमाडौं । चिकित्सा शिक्षा सुधारको मागसहित अनशनरत डा. गोविन्द केसी स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारको लागि काठमाडौं आउन तयार हुनुभएको छ ।

सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उहाँ उपचारका लागि काठमाडौं आउन तयार हुनुभएको हो ।

दश दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै थप उपचारका लागि सरकारले हिजो नै उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेको थियो । तर उहाँले आउन इन्कार गरेपछि नेपाली सेनाको हेलिकप्टरबाट त्यसै फर्किएको थियो ।

आज साँझ उहाँ आफ्नै खर्चमा धनगढीबाट हवाईजहाजमार्फत काठमाडौं आउन तयार हुनुभएको हो । उनी काठमाडौं आउनासाथ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी छ।

केसीले यसअघि आफ्ना माग पूरा नभई अन्त कतै नजाने अडान लिँदै आउनुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

फोक्सोमा संक्रमण, सुगर लेभल घटेको, रक्तचाप घटेको र आमाशयमा रक्तश्राव भएको जनाइएको छ। समग्र स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको लागि सरकारले उनीसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि उनी यसपटक २०औं पटक अनशनमा बसेका हुन्।

Back to top button