हामी राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौं: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने तयारीमा रहेको बताउनुभएकोे छ ।

राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संविधानविपरीत काम गरेको भन्दै प्रचण्डले अदालत जान लागेको बताउनुभएको हो ।

‘संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार अदालतलाई छ। त्यो संविधानले नै परिभाषित पनि गरेको छ। अदालत जाने भनेरै हामीले अधिवक्ताहरुसँग छलफल पनि गर्दैछौं,’ उहाँले भन्नुभयो।

उहाँले राष्ट्रपति भण्डारीले संविधान मिचेको आरोपसमेत लगाउनुभएको छ । ‘राष्ट्रपतिसँग प्रमाणीकरण नगर्ने कुनै छुट थिएन। तर संविधान मिचेर उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने काम गर्नुभयो। यस विषयमा गठबन्धनका नेताहरुबीच गम्भीर छलफल भयो र संयुक्त वक्तव्य पनि जारी भयो,’उहाँले भन्नुभयो।

प्रचण्डले राष्ट्रपतिको कदम संविधानविरुद्ध भएकाले त्यसका विरुद्धमा सडकमा प्रदर्शनसमेत सुरु भइसकेको बताउनुभयो।

Back to top button