सिट बाँडफाँटमा ६०/४० हुनुपर्ने कांग्रेस नेता कोइराला पक्षधरको माग

काठमाडौं । नेपाली कांग्रेसमा इतर समूहले समानुपातिकको बन्द सूची नसच्याइए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।

आज काठमाडौंमा आयोजित डा.शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्ने बताउनु भयो ।

उहाँले कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको चर्चा गर्दै आफुले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिएजस्तै अहिलेपनि त्यसलाई कायान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाए बाहिर बसेर रुख चिन्हमा भोट हाल्ने बताउनुभयो । केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उहाँले चेतावनी दिनुभयो ।

उहाँले पार्टीमा ५० औं वर्षसँगै लडेका कार्यकर्तालाई न्याय चाहिएको भन्दै पार्टीको निर्णय पारदर्शी हुनुपर्ने बताउनुभयो ।

कांग्रेस नेता मोहन बस्नेतले कांग्रेस केन्द्रीय सदस्य निर्णय विपरीत समानुपातिक टिकट वितरण भएको बताउनुभयो । ‘कांग्रेसको लागि ज्यान दिने साथीलाई बाहिर राखेर आयातीत, मसलवालाहरुलाई भित्र ल्याउने काम भयो,’ बस्नेतले भन्नुभयो । उहाँले एकलौटी ढंगले समानुपातिक बन्दसूची तयार पारिएको भन्दै त्यसलाई सच्याउन माग गर्नुभयो ।

समानता र न्यायका लागि खबरदारी सभा आयोजना गरिएको नेताहरुको भनाइ छ। नेताहरुले नेपाली कांग्रेस एक भएर जाने हो भने गठबन्धनको आवश्यकता नरहेको समेत बताएका छन् ।

भेलामा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, प्रकाश रसाइली स्नेही, विभिन्न प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रममा शीर्ष नेताहरुको भने सहभागीता थिएन ।

Back to top button