विराटनगरमा स्व.बन्टी भुजेल स्मृती रनिङ शिल्ड भेट्रान फुटबल हुँदै

विराटनगरमा ‘स्वर्गीय बन्टी भुजेल स्मृती रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता हुने भएको छ ।

भोलीदेखि सुरु हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारि दिएको हो ।

विराटनगरको सिएमजी स्वस्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता कुनै नाफा वा व्यक्तिगत फाइदाका लागि नभई एक जना फुटबलमा योगदान पुर्‍याएका व्यक्तिको स्मृतिमा गर्न लागेको प्रतियोगिता संयोजक किशोर धमलाले बताउनुभयो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विराटनगरको खेलकुद क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ तीन वटा क्लब मिलेर प्रतियोगिता गर्न लागेको उहाँले प्रष्ट्याउनुभयो ।

प्रतियोगितामा लागेको खर्चबाट बचेको रुपैयाँ स्वर्गीय बन्टीको परिवारलाई आर्थिक सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले बन्टीले फुटबलमा केहि समय बिताएको स्मरण गर्दै यस्त प्रतियोगिताले पुराना खेलाडीलाई एक ठाउँमा ल्याउने र स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो ।

असोज ९ देखि १५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुन लागेको भेट्रान प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ ।

टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत भोलीको उद्घाटन खेल दमकको दमक–लखनपुर भेट्रान क्बल र मोरङको एभरेष्ट भेट्रान क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

Back to top button