एकपटक देशको नेतृत्व गर्ने इच्छा छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ ।

गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताउनुभएको हो ।

‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ’, उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस् ।’ वरिष्ठ नेता पौडेलले कांग्रेसको १४ औं महाधिवेशन मा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईँको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गर्नुभयो ।’

नेता पौडेलले निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न आग्रह गर्नुभयो । ‘गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौं, गठबन्धनलाई सफल बनाउनुपर्छ’, उहाँले भन्नुभयो । कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो ।

छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।

Back to top button