धरान-ताप्लेजुङको पाथिभरा मन्दिर: सिम्रिक एयरको उडान सुरु

धरान । सुनसरीको धरानबाट ताप्लेजुङको पाथिभरा मन्दिरसम्म सिम्रिक एयरको हेलिकोप्टरले उडान सुरु गरेको छ ।

बडादशैको अवसर पारेर धरान होलिडेजसँगको सहकार्यमा सिम्रिकले आजदेखि धरान–पाथीभरा उडान सुरु गरेको हो ।

सिम्रिकले तिर्थालु र पर्यटकहरूको सुविधाका लागि हवाई यात्राको सुरुवात गरेको धरान होलिडेज प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले बताउनुभयो ।

धरान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पाथीभरा मन्दिरसम्म दर्शनका लागि हेलिकोप्टरको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

वर्षातका कारण तिर्थालुहरू पाथीभरा मन्दिर जान नसकिरहेका बेला धरान होलिडेजले दशैंको अवसर पारेर पाथीभरा मन्दिरसम्मका हवाई यात्राको प्याकेज ल्याएको उहाँको भनाई छ ।

अध्यक्ष श्रेष्ठका अनुसार हवाई यात्रा गर्ने तिर्थालुहरूका लागि प्रतिव्यक्ति ३९ हजार ९ सय ९९ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

सिम्रिकले हवाई उडान सुरु गरेसँगै आज धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र उपमेयर अइन्द्रविक्रम बेघालाई धरान बजार घुमाएर उडानको उद्घाटन गरिएको छ ।

धरान होलिडेजका प्रबन्धक अजय खनालले हेलिकोप्टरबाट पूर्वका पर्यटकीय स्थल र पहाडी हिमश्रृखलाहरूको दृष्यावलोकन, प्राकृतिक प्रकोप र सिकिस्त बिरामीहरूलाई हवाई एम्बुलेन्सका रूपमा समेत प्रयोग गरिने जानकारी दिनुभएको छ ।

धरान पाथीभरा उडानका लागि सिम्रिक एयरका क्याप्टेन विमल शर्मा, इन्जिनियर विष्णु बस्नेत, मार्केटिक इन्चार्ज राजेन्द्र भण्डारी र टेक्निसियन उत्तम चौधरी सहितको टोली धरान आइसकेको छ।

मौसमले साथ दिए दैनिक पाँचदेखि छ वटासम्म उडान भर्न सकिने क्याप्टेन शर्माले बताउनुभयो ।

Back to top button