घटस्थापनाको साइत पारेर प्रचण्ड नयाँ घर प्रवेश

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’गृह प्रवेश गर्नुभएको छ । भरतपुर महानगरपालिका–१४ स्थित भिमसेननगरमा उहाँले नयाँ घर बनाउनुभएको हो ।

आज घटस्थापनाको साइत पारेर उहाँले गृह प्रवेश गर्नुभएको छ । उहाँले करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाउनुभएको छ ।

आज बाजागाजासहित उहाँले गृह प्रवेश गर्नुभएको हो । प्रचण्डसहित उहाँकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए ।

प्रचण्डले अब आफू गाँउमै फर्किएको बताउनुभएको छ । उहाँले चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाउनुभएको हो ।

यसअघि उहाँ चितवन आउँदा छोरी भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको घरमा बस्नुहुन्थ्यो । उहाँले अब आफ्नै घरमा बसेर राजनैतिक गतिविधि सक्रिय बनाउनुहुनेछ ।

मंसिर ४ मा निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चितवन केन्द्रित बन्न थाल्नुभएको छ । विगत तीन दिनदेखि उहाँ चितवनमै हुनुहुन्छ । उहाँ अहिले विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

Back to top button