जर्मनीले विश्वकप जिते प्रतेक खेलाडीलाई ४ लाख युरो दिने

काठमाडौं । नजिकिँदै गरेको कतार विश्वकपमा आफ्ना खेलाडीलाई हौसला बढाउन जर्मनीको फुटबल संघ (डिएफबी)ले नगद पुरस्कारको घोषणा गरेको छ।

कतार विश्वकपमा जर्मनीलाई च्याम्पियन बनाए प्रति खेलाडी ४ लाख युरो ३ लाख ९० हजार डलर (५ करोडभन्दा बढी) रकम दिने घोषणा गरेको हो। डिएफबीले खेलाडीसँग हिजो छलफल गर्दै बोनस रकमको टुंगो लगाएको हो।

यसअघि २०१८ को विश्वकपमा उपाधि जिते टिमका हरेक सदस्यलाई ३ लाख ५० हजार यूरो बोनस दिने निर्णय डिएफबीले गरेको थियो। यो वर्ष ५० हजार युरो बढाइएको हो।

उक्त विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसअघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप जित्दा जर्मनी टिमका हरेक खेलाडीले ३ लाख यूरो प्राप्त गरेका थिए।

यस्तै, डिएफबीले समूह चरण पार गरे ५० हजार युरो, अन्तिम ८ मा पुगे १ लाख युरो, सेमिफाइनल पुगे १ लाख ५० हजार यूरो, तेस्रो स्थानमा रहे २ लाख युरो र उपविजेता बने २ लाख ५० हजार दिने जनाएको छ।

सो बोनस घोषणापछि डिएफबीका अध्यक्ष बर्नड नेअनडोर्फले टिमसँग सौहार्दपूर्ण बातावरणमा कुरा भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘टिमको तर्फबाट मेनुएल नुएर, थोमस मुलर, जोसुवा किम्ची र इकी गुन्डोगानसँगको सौहार्दपूर्ण छलफलपछि एउटा सर्वस्वीकार्य निर्णयमा पुगेका छौँ।’

Back to top button