चितवनमा घर बनाएर ४० वर्षपछि तपाईंहरुकै काखमा फर्केएको छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि चितवनमा घर बनाएर फर्किएको बताउनुभएको छ । चितवनको सरस्वती युवा क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले चितवनमा घर बनाएर तपाईंहरुकै काखमा फर्किएको बताउनुभएको हो ।

‘शिवनगरको यो १४ नम्बर वडाबाट भरतपुर बसाई सरे । भरतपुरबाट बसाई सरेर काठमाडौं गए । काठमाडौंबाट बसाई सरेर रोल्पा रुकुम फर्केर शान्ति प्रक्रियामा आए’ प्रचण्डले भन्नुभयो,

‘तत्कालीन प्रधानमन्त्री गिरिराजप्रसाद कोइराला र मैले शान्ति सम्झौतामा हस्ताक्षर गरी सकेपछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसबाट एउटा समावेशी संविधान बन्यो । यो दोस्रो स्थानीय चुनाव पुरा भई प्रदेश र संघको चुनाव हुने क्रममा ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु ।’

उहाँले यहाँ आफ्नो बाको नाममा भएको जग्गामा घर बनाएको बताउनुभयो ।

‘मैले शिवनगरमा एउटा सानो घर बनाएको छु । बा बितेपछि बाको नाममा भएको जग्गा मैले केही प्राप्त गरे । त्यहाँ मैले एउटा सानो घर बनाएको छु । आज म त्यो घरभित्र छिरे’ उहाँले भन्नुभयो, ‘अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु । तपाईको सुख दुःखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’ अबका दिन यो देशको विकास र समृद्धिमा खर्चिने प्रचण्डले बताउनुभयो ।

Back to top button