बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्युहुनेको संख्या ५१ पुग्यो

बङ्गलादेशमा गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। बङ्गलादेशको राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो।

सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी छ। अधिकारीहरुले गए रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन्।

स्थानीय सञ्चार माध्यमले आइतबार डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए। सो दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको बताएका छन्।

पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको बताउँदै हिजो रातिसम्ममा यहाँ बेपत्तामध्ये थपको शव भेटिएको जानकारी दिएका हुन्।

सो डुङ्गामा लगभग एक सय यात्रु रहेका बताइएको छ। अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको ती प्रहरी प्रमुखले जानकारी दिनुभयो।

प्रहरीले डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको बताएको छ। बङ्गलादेशमा यसरी क्षमताभन्दा बढी व्यक्ति बोक्दा डुङ्गा दुर्घघटना हुने गरेका समाचारहरु आइरहन्छन्।

Back to top button