एकैसाथ मनाए एभरेष्ट मन्टेश्वरीका बालबालिकाले दशैं, तिहार र छठ

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।

नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने झल्को दिने गरि कार्यक्रमहरु गरिएका हुन् ।

नर्सरी देखि कक्षा १ सम्मका बालबालिकाहरुलाई विभिन्न कृयाकलापमा सहभागि गराउँदै सँस्कृतिका विषयमा जानकारी गराइएको हो ।

जमरा राख्न दर्शै घर निर्माण गर्नेदेखि लिएर नवरात्रीमा पूजा आरधना गरिने नौं दुर्गा, तिहारमा पुजीने लक्ष्मी, गणेशलगायतका भगवानको रुपमा बालबालिकालाई तयार पारि गरिएको कार्यक्रमले सबैलाई वास्तविक पर्व मनाइरहेको अनुभूति गराएको थियो ।

यी चाडपर्वमा गरिने पूजा विधि देखि बालबालिकालाई मनोरञ्जनमा समेत प्रत्यक्ष सहभागिता गराइएको थियो । बालबालिका आफैले देउसी, भैलो भट्याउने देखि विभिन्न गितमा नृत्य प्रस्तुत गरेर सहभागिहरुलाई मख्ख बनाएका थिए ।

अझ तिहारमा बालिने झिलिमिलि बत्तिदेखि दाजुबहिनीको सम्बन्ध झल्काउन गरिएको भाईटिकाले सबैलाई प्रफुल्लित बनाएको थियो ।

विद्यालयका प्राचार्य टिकाराम पुरीले बाल्यअवस्थादेखि नै नेपाली सस्कृतिका बिषयमा सिकाउन आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले हाम्रो संस्कृतीको जगेर्ना गर्ने मात्र नभई सस्कार समेत सिकाउने बताउनुभयो ।

पछिल्लो समय पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिमाथि अतिक्रमण गर्दै गएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्व केन्द्रीय अध्यक्ष पुरीले अब सबै विद्यालयले सानै कक्षादेखि बालबालिकालाई हाम्रा संस्कृति र संस्कार सिकाउन आवश्यक रहेको बताउनुभयो ।

मन्टेश्वरीकि इन्चार्ज रेश्मी क्षेत्रीले स–साना नानीबाबुहरुमा नै सिक्ने उत्सुकता बढी हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने गरेको बताउनुभयो ।

एभरेष्ट स्कुलका सह–प्राचार्य टीएन भण्डारीले बालबालिकाको सक्रिय कृयाकलापको प्रशंसा गर्नुभयो । कार्यक्रममा प्राचार्य पुरी, विद्यालयकी निर्देशक कमला पुरी, सह –प्राचार्य भण्डारी, विद्यालयका शिक्षक शिक्षिका तथा केहि अभिभावकहरुको सहभागिता थियो ।

‘प्लेग्रुप’ देखि कक्षा १ सम्मको अध्यापन हुने एभरेष्ट मन्टश्वरीमा ३ सय बालबालिका अध्ययनरत छन् । कार्यक्रमको अन्त्यमा यसअघि नै बालबालिकाले राखेका जमरा उनीहरुलाई नै दिएर विदा गरिएको छ ।

Back to top button